बुटवल, १५ पुस । सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले समुदायमा संचालन गरेको सम्वाद र सिड्स परियोजना अन्र्तगतका कार्यक्रमले किशोरी र महिलाहरुलाई आयआर्जनमा सक्रिय बनाएको पाइएको छ । सुनागाभाको सम्वाद परियोजनामा आवद्ध ३ सय ४७ जना किशोर किशोरी तथा सिड्समा आवद्ध १ सय ४६ जना महिलाहरु ब्यवसाय संचालन गरेर आयआर्जमा सक्रिय भएका हुन् । सुनगाभाले रुद्रपुरमा सामाजिक परीक्षण कार्यक्रम गरेर आर्थिक वर्ष २०७१÷७२ का गतिविधिका बारेमा जानकारी गराउँदै किशोरी र महिलाहरुका आर्थिक अवस्थामा सुधार आएको बताएको हो । सुनगााका कार्यक्रम संयोजक गोपाल केसिले केन्द्रले युएमएन र स्ट्रोम फाउण्डेशन लगायतका संस्थाको साझेदारीमा सिड्स, सम्वाद रेक्टोफिटिङ्ग, शिक्षा, मानब बेचविखन विरुद्ध अभियान तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले उक्त कार्यक्रम समुदायमा संचालन भएयता किशोर किशोरीका अधिकारका बारेमा सचेतना, बाल अधिकार, महिला स्वाभलम्बन समुह गठन, बालविवाहमा कमि, बालमैत्री विद्यालय, छात्रामैत्री विद्यालय लगायत गतिविधिमा परिवर्तन आएको सुनाउनुभयो । सुनगाभाले रुपन्देहीका रुद्रपुर, जोगडा, साँडी, सुर्यपुरा, धमौली लगायतका गाविसहरुमा कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । सुनगाभाका अध्यक्ष तारा काउचाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठ, रुद्रपुर गाविस सचिव कृष्णप्रसाद पन्थी, साँडी गाविसका सचिव टेकराज अर्याल, स्ट्रोम फाउण्डेशनका अनुगमन अधिकृत रामनाथ वोझा, युएमएनका बरिष्ठ स्वास्थ्य अधिकृत सुनिलकुमार गौतम लगायतले बोल्दै सुनगााले समुदायमा गरेका कार्यक्रम सामुदायिक विकासमुखि भएको उल्लेख गर्दै कार्यक्रमको निरन्तरताको कामना गर्नु भयो । कार्यक्रमको सहजिकरण पत्रकार ईन्दिरा अर्यालले गर्नु भएको थियो ।